जनकपुरधाम, १० पुष । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केवरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ईकाइको स्थापना गरेको छ ।

धनुषा लगायतका जिल्लाका विभिन्न स्थानबाट ढल्केवर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने उद्देश्यले सो प्रयोगशाला स्थापना गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयअन्तर्गतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केवरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए ।

केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमूलक सूचना समयसमयमा दिइरहनुपर्नेमा जोड दिए ।

कार्कीले भने, ‘३५ प्रतिशत भन्दा कम विषादी प्रयोग भएको देखिएमा खानयोग्य हुन्छ, ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गनुपर्छ, ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा अखाद्य मानिन्छ र त्यो वस्तु खानयोग्य हुँदैन ।’

केन्द्रीय प्रयोगशालाको सहयोगमा ४० लाख रुपैयाँको लागतमा प्रयोगशाला निमार्ण गरिएको हो ।