काठमाडौं, ८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । पार्टीको सचिवालय बैठक भर्चुअल बसेको थियो ।

सचिवालय बैठकमा केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल गरेको पनि प्रमुख सचेतक परियारले जानकारी दिए ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएका छन् । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने बताइएको छ ।