जनकपुरधाम, ८ पुष । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले आफ्नो १२औं महाधिवेशनको तयारीको क्रममा राष्ट्रव्यापी सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ ।

यसैक्रममा जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका लागि केन्द्रिय प्रतिनिधिका रूपमा खटेका केन्द्रिय सदस्य सुदिप महतो र हृदय राज मिश्रको रोहबरमा नेपाल विद्यार्थी संघका स्ववियू सभापति प्रत्याशि तथा विश्वविद्यालय समितिका उपसभापति त्रिलोक कुमार यादवको अध्यक्षतामा सदस्यता वितरण शुभारम्भ गरी सोमबार दोस्रो दिन पनि स्वास्थ्य विज्ञान संकायमा निरन्तर सदस्यता वितरण गर्दै अभियानलाई जारी राखिएको थियो ।

यस अभियानको उद्देश्य संगठनको सदस्य संख्या वृद्धि गर्दै आगामी महाधिवेशनको तयारीलाई सशक्त बनाउनु हो ।

अभियानका लागि, नेविसंघले प्रत्येक जिल्ला, आंगिक क्याम्पस, स्ववियु, विद्यार्थी कल्याण परिषद्, र विभिन्न विश्वविद्यालयहरूको केन्द्रीय क्याम्पस तथा अन्य क्याम्पस/कलेज/प्रतिष्ठानमा प्रतिनिधिहरू खटाएको छ । यी प्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रका विद्यार्थीहरूको नामावली संकलन गरी केन्द्रीय कार्यालयमा बुझाउने कार्य गर्नुपर्नेछ ।

यो अभियान नेविसंघको संगठनात्मक सशक्तिकरण र आगामी महाधिवेशनको लागि महत्त्वपूर्ण कदमका रूपमा रहेको छ ।