जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको सांघातिक आक्रमणप्रति मधेश सरकारको ध्यानाकर्षण

जनकपुरधाम, ७ पुष । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको अन्तिम खेलपछि केही अराजक र उपद्रवी समूहद्वारा जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको सांघातिक आक्रमणप्रति मधेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शनिबार काठमाडौंमा जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको सांघातिक आक्रमणप्रति प्रेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘खेलकुद प्रतिस्पर्धाक्रममा दर्शकहरु स्वभाविक रुपमा दुई पक्षबीच विभाजित हुने र समर्थन दिने हुन्छ । तर, त्यसकारणले नै एउटा पक्षले अर्को पक्षलाई साम्प्रादायिक सङ्कीर्णता, दुराग्रह र द्वेषपूर्ण घृणाकै कारण भौतिक आक्रमणलगायत दुव्र्यवहार गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण छ ।’
क्रिकेट प्रतियोगिताले देशका सबै भूगोल र समुदायका नागरिकबीचको सद्भाव, सहिष्णुता र भाइचारालाई थप प्रगाढ बनाइरहेको बेला जनकपुर बोल्ट्सका समर्थकमाथि खेलमैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असहय र पीडादायी रहेको मुख्यमन्त्री सिंहको भनाइ छ ।
‘जनकपुर बोल्ट्सका खेलाडी तथा समर्थकमाथि दुराशय तथा विभेदपूर्ण नियतका साथ गरिएको अभद्र एवम् अपमानजनक व्यवहार नेपालको संविधान तथा कानुनविपरीतको व्यवहार हो । प्रत्येक समुदायको आ–आफ्ना साँस्कृतिक र परम्परागत अभ्यास रहेको र यसले नै देशलाई सुन्दर तथा विविधतापूर्ण बनाएको हुँदा कुनैपनि समुदायको मौलिकता र विशिष्ठता प्रतिबिम्बन हुने रीतितिथिप्रति देखाइने तिरस्कारभावले फरक भूगोल तथा समुदायका नागरिकबीचको सुदृढ तथा सुदीर्घ सम्बन्ध बनाउने अपेक्षा खण्डित हुन सक्ने जोखिम छ । कुनैपनि हिसाबले यो अवस्था प्रीतिकर हुन सक्दैन ।’
खेलकुद प्रतिस्पर्धालाई निहुँ बनाएर निश्चित समुदायलाई लक्षित गरी गरिएका अनुचित, अवाञ्छित तथा अनर्गल टिकाटिप्पणी सामाजिक, कानुनी र नैतिक सबै दृष्टिले दोषपूर्ण रहेकाले दोषीलाई कारबाही गर्ने सन्दर्भमा संवेदनशीलताका साथ तत्परता अपनाउन सम्बद्ध निकायसँग मुख्यमन्त्री सिंहले आग्रह गरेका छन् । उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


