जनकपुरधाम, ७ पुष । जनकपुर बोल्ट्सका समर्थकहरूलाई लक्षित गरी गरिएको तुच्छ गालीगलौज एवं अपमानले सम्पूर्ण मधेशी समुदाय मर्माहत भएको राष्ट्रिय मुक्ति पार्टी नेपालको ठहर छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइतबार एक विज्ञप्ति निकाल्दै मधेशी पहिचान बोकेकाहरु माथी नश्लिय आधारमा भएको बर्बर हिंसात्मक आक्रमण र समाजिक सञ्जालमा समेत एउटा समुदायविरुद्ध नै अत्यन्त आपत्तिजनक घिर्णा फैलाउने गरि गरिएको तुच्छ गालीगलौज एवं अपमानले सम्पूर्ण मधेशी समुदाय मर्माहत भएको बताएका छन् ।

उनले यो कार्य घोर भर्त्सना योग्य र दण्डनीय रहेको भन्दै यसले सम्पूर्ण खेलकुदप्रेमीलाई स्तब्ध र दुखित बनाएको बताए । ‘यस प्रकारको हिंसा, विभेद र दुर्व्यवहारले हाम्रो समाजको आधारभूत मूल्य मान्यता एवं सद्भावमा खलल पुर्याएको छ, जुन कुनै नि हालतमा स्वीकार्य हुन सक्दैन । यस्ता कार्यहरु निरुत्साहित गर्नुपर्छ, उनले भनेका छन् ।’

उनले भने, ‘हामी यस घटनाको कडा शब्दमा निन्दा गर्दछौं । यस घटनाको गम्भीर ढंगले तत्काल छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरूलाई रोक्न आवश्यक कदम चाल्न राज्य संग जोडदार मांग गर्दछौं । घाइते भएका समर्थकहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु ।’