जनकपुरधाम, ५ पुष । जनकपुरधामस्थित रामानन्द युवा क्लवको वार्षिकोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रका ३ जना श्रष्टालाई सम्मानित गरिएको छ ।

कबडी र भारतोलनका राष्ट्रिय खेलाडी रहिसकेका अवधेश पोखरेल जनकपुरियालाई चन्द्रकला वशिष्ट स्मृति खेल पुरस्कार, मैथिली साहित्यका चर्चित व्यक्ति विजेता चौधरीलाई विद्यापति स्मृति पदक र मैथिलीका प्रसिद्ध गायक हरिशंकर चौधरीलाई सरस्वती राजनारायण कला पुरस्कार प्रदान गरिएको हो । तीनटै पुरस्कारको राशी २१–२१ हजार रुपैयाँ रहेको छ ।

मधेश प्रदेशका भैतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले तीनटै पुरस्कार प्रदान गरेका छन् । पुरस्कारमा नगदराशी, प्रशस्तीपत्र र दोसल्ला रहेको थियो । पुरस्कार छनौट समितिका संयोजक जीवनाथ चौधरीले आफ्ना क्षेत्रका तीनैजना दिग्गज रहेकाले छनौटमा आफूहरुलाई कुनै समस्या नभएको बताए ।

प्रशस्तीपत्र पूर्वअध्यक्षद्वय अशोक दत्त र नवीनकुमार मिश्रले पढेका थिए । पुरस्कार पाएपछि आफ्नो मन्तव्य राख्दै अवधेश पोखरेल जनकपुरियाले आफ्नै संस्थाले पुरस्कार दिंदा झन गौरवान्वित भएको बताए । जनकपुरिया रामानन्दको अध्यक्ष रहिसकेका छन् ।