जनकपुरधाम, ५ पुष । जनकपुरधाममा शनिबारदेखि दुई दिवसिय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।

जानकी मन्दिरको परिसरमा शनिबार र आइतबार काँन्क्लेवको आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिएका छन् ।

काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

शनिवार दिउँसो ३ बजेदेखि आयोजना हुने उक्त काँन्क्लेवको पहिलो सत्रमा हुने रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका स्वामी डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको सहभागिता रहनेछ ।

दोस्रो दिनको सत्रमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भारत यूपीका मुख्यमन्त्री आदित्यनाथ योगी र पर्यटन मन्त्री आउने कार्यक्रम नरहेको जानकारी दिदैं उत्तराधिकारी महन्थ रोशन दासले कसैले निराधार हल्ला फैलाएको बताए । मुख्यमन्त्री योगी नआएपनि पर्यटन मन्त्रालयका संस्कृति विभागका निर्देशक आशोष द्ववेदी जनकपुर आउने कार्यक्रम रहेको छ ।

भारत सरकारको रामायण सर्किट अन्तर्गतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ । त्रेतायुगमा भगवान रामले भगवान शिवको धनुषलाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।

भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामायण सर्किट बनाएको छ । रामायण सर्किटको प्रमुख स्थानहरु मध्ये जनकपुरधाम र धनुषाधाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलंकामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।