जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका बैठकमा घम्साघम्सी

जनकपुरधाम, ५ पुष । जनकपुरधाम उपमहानगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिहरुले बहिष्कार गरेका छन् ।
बैठक लाइभ गरिए सहभागी हुने नभए बहिष्कार गर्ने भन्दै नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु मेयर मनोज कुमार साहको विरोधमा प्रदर्शन गरेका हुन् ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि अन्ततः ५ महिनापछि शुक्रबार कार्यपालिका बैठक बोलाइएको थियो । बैठकको नगरप्रमुख मनोजकुमार साहले लाइभ गर्न नदिने अडान लिएपछि एमालेका वडाध्यक्षहरुले बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।
नगरप्रमुख साहले आफूहरुकै दबाबमा कार्यपालिका बैठक डाकेको भएपनि हामीले राखेको मागमा उनले गम्भिरता नदेखाएपछि कार्यपालिका बैठक छोडेर बाहिरिनु परेको वडा नम्बर–८ का वडाध्यक्ष दिनेश सिंहले बताए ।
उनले भने, ‘सुमन कार्की प्रशासकीय अधिकृत हुँदा नै कार्यपालिका बैठक लाइभ गर्नुपर्ने सहमति भएको थियो, तर नगरप्रमुख मनोजकुमार साह बहुमतको दम्भमा सहमतिलाई लत्याएका छन् ।’ बैठक लाइभ गर्ने वातावरण नबनेसम्म आफूहरु बैठकमा सहभागी नहुने वडाध्यक्ष सिंहले अडान दोहराए ।
यता नगरप्रमुख पदमा निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका शिवशंकर साह हिराले नगरप्रमुख साहले बहुमतको दम्भमा एक पक्षलाई बहिष्कार गर्ने वातावरणको निर्माण गरेको आरोप लगाए । उनले जनकपुरधाम उपमहानगरपालिकामा हुँदै आइरहेको भ्रष्टाचारलाई ढाकछोप गर्नका लागि कार्यपालिकाको बैठक लाइभ गर्नबाट पन्छिरहेको समेत बताए । उनले आफूहरुको माग पूरा नगरिए चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिए ।
मेयर मनोजकुमार साहले कुनैपनि बैठकको नियम तौरतरिका हुने बताउँदै बहुमत सदस्यहरु बैठक लाइभ गर्न नहुने पक्षमा रहेकाले आफुले नमाने पछि असन्तुष्ट साथीहरु बाहिरएको बताए । बैठकपछि मेयर साहले दशैं खर्च र दिनुपर्ने सहयोग, पाँचवटा विधेयक र विभिन्न परियोजनाको कार्यविधी बैठकबाट पास गरिएको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


