जनकपुरधाम, ५ पुष । धनुषामा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ ।

जिल्लाको मिथिला बिहारी नगरपालिका–२ पुरन्दाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक युवकको शव फेला परेको थियो ।

बिहीबार अपराह्न सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको कुरा स्थानीयले जानकारी गराएका थिए । मृतकको परिचय खुलेको छैन । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस्तै शुक्रबार बिहान पनि एक जना पुरुषको शव फेला परेको छ । जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको हो । मृतक अन्दाजि ५०/६० वर्षको पुरुष रहेको तर उनको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको र छेउमै ईटा पनि फेला परेको धनुषाका डीएसपी सिंहले जानकारी दिए । घटनास्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ ।

स्थानीयले राती मादक पदार्थ सेवन गरेर केही व्यक्तिले हो–हल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट हिंडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए ।

घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।