राज्यसत्ताको गलत नियतका कारण मधेशको शिक्षा खस्किएको मुख्यमन्त्री सिंहको टिप्पणी

जनकपुरधाम, ४ पुष । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राज्यसत्ताको गलत नियत र नीतिका कारण मधेशको शिक्षा खस्किएको टिप्पणी गरेका छन् ।
बिहीबार जनकपुरधामस्थित अक्षर विद्या मन्दिरको ११औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री सिंहले मधेशको शिक्षाका बारेमा विभिन्न टिप्पणी गरेका हुन् ।
उनले केन्द्र सरकारले मधेशमाथि विभेद गरेका कारण यहाँको शिक्षा कमजोर भएको टिप्पणी गरे । मधेशको शिक्षा राज्यको नीतिका कारण खस्किएको उनको दाबी थियो ।
उनले भने, ‘संघीय सरकारले प्रदेश गठन गरिदिएको छ तर त्यसलाई कुनै अधिकार दिएको छैन, प्रदेश सरकारको न आफ्नो शासन छ न प्रशासन छ न कुनै नीति अनि यहाँ शिक्षालाई कसरी सुधार गर्न सकिन्छ ?’
उनले मधेशलाई हेर्ने दृष्टिकोण नै नराम्रो हुने गरेको बताउँदै त्यसैले पनि यहाँको शिक्षा बिग्रिँदै गएको दाबी गरे । मधेशको शिक्षामा संख्यात्मकमा भन्दा गुणात्मकतामा ध्यान दिनुपर्ने बताउँदै उनले यसअघिनै विद्यार्थी भर्नामा जोड दिइएको तर गुणस्तरमा ध्यान नदिएको टिप्पणीसमेत गरे ।
उनले शिक्षा, कर्मचारीदेखि लिएर हरेक क्षेत्रमा मधेशले टप गर्दै आएको समेत दाबी गरे । ‘यो शिक्षाकै कारणले भएको हो तर राज्यको पूर्वाग्रहीका कारण मधेसीहरूले स्थान पाएनन्’ उनको टिप्पणी थियो ।
अक्षर विद्या मन्दिरका सञ्चालक पंकज जालानको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले मधेशको शिक्षामा विभेद गरिंदै आएको आरोप लगाइन् । कुनै समय मधेशकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेश नै शिक्षाको मामिलामा पछाडी पर्नु दुःखद रहेको उनले बताइन् ।
मन्त्री शर्माले मधेशको शैक्षिक स्तर योजनाबद्ध हिसाबले धाराशायी पार्ने षडयन्त्र हुँदै आएको आरोप लगाइन् ।
उनले भनिन्,‘मधेश पहिले शिक्षाको हब थियो । अहिले हेर्नुस मधेशमा विद्यार्थीको अनुपातमा शिक्षक छैन, विद्यालयहरुमा भौतिक संरचनाको अभाव छ । यसरी योजनाबद्ध तरिकाले शैक्षिक स्तर धाराशायी बनाइदैंछ ।’
मन्त्री शर्माले मधेशको शिक्षामा सुधार ल्याउनका लागि प्रदेश सरकारले स्थानीय सरकार तथा संघ सरकारसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अक्षर विद्या मन्दिरका सञ्चालक पंकज जालानले आफ्नो विद्यालयले विद्यार्थीहरुको चौतर्फि विकासका लागि काम गरिरहेको दाबी गरे । उनले विद्यार्थीलाई पढाई मात्र नभई नाट्यकला, नृत्यकला, योगा, कराँतेलगायतका अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउँदै आएको बताए ।
उनले अक्षर विद्या मन्दिरले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायको कक्षा पनि सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


