मेरो उम्मेदवारी मेरो जितको लागि होइन व्यापारीको हितको लागि हो : संतोष कुमार साह

जनकपुरधाम, ४ पुष । यही पुष ६ गते हुन लागेको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आ–आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न व्यस्त देखिएका छन् भने व्यापारीहरुले पनि अब आउने नेतृत्वसँग अपेक्षा राखिरहेका छन् ।
यसैबिच, अध्यक्ष पदका उम्मेदवार संतोष कुमार साहले आफू व्यापारीहरुको पीडामा मलहम लगाउने व्यापारी नेता रहेकाले आफ्नो पक्षमा व्यापारीहरु लागेको बताएका छन् ।
उनले भने, ‘म व्यापारीको पीडा हुँदा दिनरात खट्ने उम्मेदवार हुँ । उद्योग वाणिज्य संघमा व्यापारीहरुको हकहितका लागि काम गर्ने मलाई सबैले नेतृत्वमा देख्न चाहन्छन् ।’ साहले आफूले व्यापारीहरुका लागि विगतमा अहोरात्र खटेकाले अहिले आएर व्यापारी साथीभाईसँग सहयोगको अपेक्षा राखेको बताए ।

elegant pink watercolor texture background
‘टुडेआवाज’सँग कुराकानी गर्दै उनले भने, ‘अध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गर्नेछु । संस्थागत रूपमा काम गर्ने प्रयास गर्नेछु ।’
उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए । उनले आफूले नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताउँदै संघको गरिमा उच्च राख्न भूमिका खेल्ने दाबी गरेका छन् ।
उनले भने, ‘मेरो उम्मेदवारी मेरो जितको लागि होइन व्यापारीको हितको लागि हो । मेरो उम्मेदवारी सुरक्षित व्यापारको लागि हो । मेरो उम्मेदवारी संस्थाको प्रभावकारी सुधारको लागि हो । मेरो उम्मेदवारी पदको लागि होइन व्यापारीको हित र जलेश्वरको सवल व्यापारको लागि हो ।’
व्यापारीका समस्या समाधान गर्न, संस्थालाई सबल बनाउन र जलेश्वरको व्यापारलाई नयाँ उचाइमा पुर्याउन आफ्नो उम्मेदवारी सबैको साथ र विश्वासको प्रतीक रहेको संतोषको भनाइ छ ।
जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा संतोष कुमार साह र शिवचन्द्र चौधरी प्रतिस्पर्धामा छन् ।
जलेश्वर उद्योग वाणिज्य संघमा अहिले ८६१ सदस्य मतदाता छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


