धनुषामा महिलाको हत्या आरोपि १३ दिनपछि सार्वजनिक

जनकपुरधाम, २ पुष । धनुषामा महिलाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका वडा नं. ५ बस्ने बिपत पासवानका ५० वर्षीय छोरा सगम लाल पासमान रहेका छन् ।
जिल्लाको विदेह नगरपालिका वडा नं. ५ धाता नहरमा घाँस काट्न हिडेकीं सोही ठाउँ बस्ने रामरतन ठाकुरकी ४० वर्षीया श्रीमति रामपरी देवी ठाकुरको घाँटी काटेर हत्या गरेको आरोपमा प्रहरीले पासमानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले हत्यामा पासमानको संलग्नता पुष्टि भएको जानकारी दिए । उनले आपसी विवादको बदला लिने उद्देश्यले ठाकुरको हत्या गरेको खुलेको बताए ।
गत मंसिर १८ गते अन्दाजी साढे ४ बजेको समयमा मुडिबा टोलमा घाँस काट्न हिडेकीं ठाकुर घर नफर्के पछि परिवारजनले १९ गते प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान र खोजतलास गर्दै जाँदा १९ गते नै नहरदेखी पूर्व शहिदनगर नगरपालिका वडा नं ७ स्थित शिवनारायन मण्डलको धान खेतमा महिलाको शव घाँटी काटिएको अवस्थामा बरामद गरेको थियो ।
घटनास्थलको विवरण यस प्रकार छ :
मंसिर १९ गते १२ः४० बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिवा टोलको चौरमा रहेको प्रदीप यादवको खेतमा ८ फिट लम्बाई १३ फिट चौडाई भएको रगत जस्तो रातो पदार्थ छरपष्ट अवस्थामा सुकेको र सो वरपर चुराको टुक्राहरु फेला परेको थियो । सो स्थानदेखी नहरको बिच भाग हुँदै रगत जस्तो पदार्थको डाम र घिसारेको जस्तो डामलाई पछ्याउँदै जाँदा घटनास्थलदेखि १०० मिटर उत्तरमा नहरको बिच भागमा रगत जस्तो पदार्थ र सो भन्दा ३५ फिट उत्तर नहरको बिच भागमा रामपरी देवी ठाकुरले प्रयोग गर्ने रातोमा कालो बुट्टा भएको साडी फेला परेको थियो ।
सो पश्चात नहरमा भएको घिसारिएको डाम पूर्वतर्फ मोडिई शिवनारायण मण्डलको धान खेतमा टाउको नभएको र शरीरको भाग मात्रै भएको मृतक ठाकुरको लाश फेला परेको थियो । मृतक लाशको टाउको खोजतलास गर्ने क्रममा शरीरदेखि २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडी भित्र लुकाई छिपाई राखेको अवस्थामा मृतक रामपरी देवी ठाकुरको टाउकोको भाग फेला परेको र सोही झाडीमा मृतकले लगाउने भित्री वस्त्र समेत फेला परेको प्रहरी उपरीक्षक तिवारीले बताए । प्रहरीले घटनास्थललाई सुक्ष्म रुपमा कर्डन गरी घटनास्थल वरपरको झाडी तथा नहरको भित्तामा भएको झाडी समेत फाँडी सुक्ष्म तरीकाले तलासी गर्दा घटनास्थल नजिकै रगत जस्तो रातो पदार्थ लागेको सपेदाको काठको (भिक्स) को चिरपट, रगत लागेको निलो रङको चप्पल, हँसिया समेत फेला पारी बरामद गरेको थियो ।
लाशजाँच मुचुल्काको व्यहोरा यस प्रकार छ :
घाँटीको पुरै भाग काटिएको, दाहिने हातको हत्केला माथि घस्रिएको र काटिएको घाउ रहेको, शरीरमा धुलोमाटो लागेको, टाउकोको भागमा पटक पटक प्रहार गरेको घाउ, शरीरको भाग देखी २०५ फिट पश्चिम तर्फ नहरको डिलमा झाडी भित्र लुकाएको अवस्थामा टाउको र सोही झाडीमा कपडाहरु समेत फेला परेको सथयो ।
प्रहरीले घटनास्थलबाट रगत जस्तो रातो पदार्थ, रगत लागेको चिरपट, चिरपटको टुक्रा, चुराको टुक्राहरु, मृतकको साडी, भित्री वस्त्र, चप्पल र प्रतिवादी सगमलाल पासमानको घरबाट पासमान सुत्ने कोठामा सुटकेशभित्र उनले प्रयोग गर्ने रगत लागेको निलो रङको फुल पाईन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेलो रङको ज्याकेट र मोबाईल बरामद गरेको थियो ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु :
मृतक रामपरी देवी ठाकुर र प्रतिवादी सगम लाल पासमान बिच पहिलादेखि चिनजान रहेको, मृतक र प्रतिवादी बिच पटक पटक फोन सम्पर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, रामपरी देवी ठाकुर घटनास्थल तर्फ गएको र पछि प्रतिवादी सगम लाल पासमान पनि घटनास्थल तर्फ गएको स्थानीय मानिसहरुले देखेका थिए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सगम लाल पासवानले नै रामपरी देवी ठाकुरलाई कर्तव्य गरी मारेको पुष्टि भएको एसपी तिवारीले जानकारी दिएका छन् । उनले सो घटनामा अन्य व्यक्तीहरुको पनि संलग्नता रहे/नरहेको सम्बन्धमा विभिन्न आयामबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रतिवादी पासमानको हकमा धनुषा जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


