जनकपुरधाममा दुई दिवसिय रामायण काँन्क्लेवको आयोजना हुँदै

जनकपुरधाम, २ पुष । जनकपुरधाममा दुई दिवसिय रामायण काँन्क्लेव आयोजना हुन लागेको छ ।
जनकपुरधाममा पुस ६ र ७ गते जानकी मन्दिर परिसरमा काँन्क्लेवको आयोजना हुन लागेको हो ।
भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।
भारत सरकारको रामायण सर्किट अन्तर्गतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तर प्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा काँन्क्लेव हुन लागेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिएका छन् ।
उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ । त्रेतायुगमा भगवान रामले भगवान शिवको धनुषलाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।
काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटा, पद्मश्री मालिनी अवस्थी, चिराग जैन, सुफलता त्रिपाठीको भजन सन्ध्या कार्यक्रम हुनेछ ।मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामायण सर्किट बनाएको छ । रामायण सर्किटको प्रमुख स्थानहरु मध्ये जनकपुरधाम र धनुषाधाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलंकामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


