मेयरले उपमहानगरको अवस्था लथालिङ्ग बनाएको भन्दै जनकपुरधामका वडाध्यक्षहरुद्वारा आन्दोलनको चेतावनी

जनकपुरधाम, २ पुष । जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
स्थानिय तहको निवाचनको २ वर्ष ८ महिना बितिसक्दा पनि जनकपुरधाम उपमहानगरपालिकाको अवस्था लथालिंग रहेको र अहिलेसम्म कार्यपालिका बैठक पनि बस्न नसकेको भन्दै आक्रोशित वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वडा नम्बर–८ का वडाध्यक्ष दिनेश कुमार सिंहले नगरप्रमुख मनोजकुमार साहका कारण आम जनताले पाउने आधारभूत सेवाहरु सरसफाइ, स्वास्थ्य, शिक्षालगायत राज्यद्वारा दिइने थुप्रै सेवाहरुको अनुभुति अहिलेसम्म गर्न नसकेको बताए ।
उनले भने, ‘अनुभुती होस् पनि कसरी ? शासन विधिको हुनुपर्दछ व्यक्तिको होइन । तर हाम्रो जनकपुरधाम उपमहानगरपालिकामा शासन व्यक्तिको छ, विधिको होइन । किनभने आर्थिक वर्ष २०८१/०८२ को झण्डै आधि वर्ष बितिसक्दा पनि हाम्रो कार्यपालिकाको एउटा पनि बैठक बसेको छैन । यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्छ ?’
‘विधिको शासनले प्रत्येक महिना कार्यपालिकाको बैठक बस्नु पर्ने हो । आजको मितिदेखि १५ दिनभित्र कार्यपालिकाको बैठक बोलाउन हामीले अनुरोध गरेका छौं । अन्यथा हामी आन्दोलन गर्न बाध्य हुनेछौं, ‘वडा नम्बर–२४ का कार्यवाहक वडाध्यक्ष शेषनाथ मण्डलले चेतावनी दिए ।’
ज्ञापनपत्र बुझाउन वडा नम्बर–२० का वडाध्यक्ष मोती राईन, वडा नम्बर–५ का वडाध्यक्ष बेचन साह हलुवाई, कार्यपालिका सदस्य संतोष कुमार महतो, दिपेन्द्र कुमार साहलगायतकाहरु उपमहानगरको कार्यालय पुगेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


