वैवाहिक समारोहलाई मनोरञ्जन र राजनीतिको अखाडा बनाइयो : महन्थ दास

जनकपुरधाम, २३ मंसिर । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सहायक महन्थ रामरोशन दासले मन्दिरलाई तहसनहस बनाएको आरोप लगाएका छन् ।
महन्थ दासले विवाहपञ्चमी महोत्सवअन्तर्गत जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने वैवाहिक समारोहलाई रोशनले राजनीतिको अखाडा बनाएकोसमेत बताएका हुन् ।
विवाहपञ्चमी महोत्सवलाई राजनीति र मनोरञ्जनसँग जोडेपछि आफूले यसपालि जानकी मन्दिरको विधिहरु बेग्लै गरेको बताउँदै उनले भने, ‘यसपालि जानकी मन्दिरमा हरेका विधि दुई ठाउँमा भएको छ । मैले सन् २००४ देखि अशोक सिङ्गल, जिवेश्वर, पंकज चौधरी, चम्पत रायलगायत अयोध्याका सम्पूर्ण सन्त महन्थहरुसँग मिलेर विवाहपञ्चमीलाई वैदिक विधिसँग गर्नुपर्छ भन्दै धेरै मिहिनेत गरेर यो विधि प्रारम्भ गरेको थिएँ । तर, यसलाई अब मनोरञ्जनको अखाडा बनाइएको छ ।’
महन्थ दास आक्रोशित हुँदै भने, ‘नेपाल एउटा मात्र यस्तो देश छ जहाँ वैदिक विधिअनुसार विवाह हुन्छ । अन्य देशहरुमा कोहीले रिङ्ग लगाएर त कोही कोर्टमा गएर अथवा बाटोमै विवाह गर्छन् । तर हाम्रो मिथिलामा सितारुपी एउटा यस्तो स्त्रीको जन्म भयो जसले सम्पूर्ण स्त्रीलाई चरित्र सिकाइन् । त्यसैले वैदिक विधिअनुसार विवाह हुनुपर्छ । तर विस्तारै यसलाई आधुनिकतामा परिणत गरियो ।’
राम मन्दिरमा तिलक र गंगासागरमा मटकोर गर्न जाँदा सम्पूर्ण विधिहरु आशन ग्रहणमै समाप्त हुने गरेको आरोप लगाउँदै उनले भने, ‘जानकी मन्दिरमा विवाहको बेला सम्पूर्ण विधिहरु मनोरञ्जनमै समाप्त हुन्छन् । त्यसैले मैले यसलाई दुई प्रथामा विभाजन गरें । म स्वयं राम मन्दिरमा गएर टिका लगाई तिलकोत्सव तथा जानकी मन्दिरमै मटकोरको आयोजना गरें । वैदिक विधि अनुसार मन्दिर भित्रै वैवाहिक कार्यक्रम सम्पन्न गरें । यहाँ मञ्चमा मनोरञ्जन रुपले मात्र देखाउन आएको थिएँ ।’
‘जनकपुरधाममा एउटा भ्रम फैलिएको थियो कि अयोध्याबाट जन्तीको भोजन र विदाईका लागि एक ट्रक सामान आयो । यस भ्रमलाई म निवारण गर्दछु, उनले भने, ‘मुख्यमन्त्री, मेयर र विश्व हिन्दू परिषद्का केही कार्यकर्ताहरुले ति सामानहरु ल्याए । तर किन ल्याए त्यो कुरा उनीहरुलाई नै थाहा होला जानकी मन्दिरलाई ति सामान बारे कुनै जानकारी छैन् । पत्रकारहरुले आफूलाई हजारौं पटक अयोध्याबाट धेरै सामान आएको बारेमा सोध्न आए । तर, मैले म कहाँ एउटा पनि नआएको जवाफ दिएँ । मुख्यमन्त्री र मेरयले किन ल्याए त्यो उनीहरु नै जानुन् ।’
महन्थ दासले यी सम्पूर्ण कुराहरु जानकी मन्दिरको प्राङ्गणमा शुक्रबार राति आयोजना गरिएको वैवाहिक समारोहमा बोल्दै आक्रोशित भई हातबाट माइकसमेत फ्यालेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


