आजु तिलक चढे रघुनन्दनकेँ…

जनकपुरधाम, १९ मंसिर । साताव्यापी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन आज तिलकोत्सव विधि मनाइँदै छ।
तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाइन्छ । यसपालि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले करिब पाँच सय एक पाहुर लिएर राम मन्दिरमा पुग्नेछन्।
दिउँसो एक बजे जानकी मन्दिरबाट पाहुर बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुग्ने जानकी मन्दिरका उत्तराधिकार महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।
तिलकोत्सव राम मन्दिरको प्रांगणमा दिउँसो ३ बजेदेखि सुरु हुने महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए । तिलकोत्सवका लागि राम मन्दिरको प्रांगणमा महावीर युवा कमिटीद्वारा भव्य मञ्च बनाइएको छ।
सो समारोहमा प्राचीन मिथिलाका राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्थ राम गिरीबीच सम्धी मिलन हुनेछ।
यसअघि विवाहपञ्चमी महोत्सवको तेस्रो दिन मंगलबार रंगभूमी मैदानमा धनुषयज्ञ मनाइएको थियो। त्रेतायुगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।
मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ।
सप्ताहव्यापी रूपमा मनाउने रामजानकी विवाह महोत्सवको पाँचौं दिन बिहीबार मटकोर विधि मनाइने र छैटौं दिन अर्थात् मंसिर २१ गते सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौं श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


