अवध नगरियासँ अएलै बरियतीया हाय रे जियरा…

जनकपुरधाम, १८ मंसिर । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा सरिक हुन भारतको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
जनकपुरधामका नगरप्रमुख मनोजकुमार साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकार महन्थ रामरोशन दास वैष्णवसहित जनकपुरधामवासीले जानकी मन्दिरको प्राङ्गणमा रेड कार्पेट ओछ्याएर जन्तीको भव्य स्वागत गरेका हुन् ।
यसपटकको रामजानकी महोत्सवमा सरिक हुन मंसिर १२ गते अयोध्याबाट हिंडेको श्रीराम मन्दिर ट्रष्टका उच्च पदाधिकारी र साधु सन्तसहितको पाँच सय जनाको जन्ती टोली जनकपुरधाम आइपुगेको हो ।
सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती सजिएर जनकपुरधाम आउने परम्परा छ ।
नेपाल प्रवेश गरेपछि महोत्तरीको मटिहानीमा पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुरधाम प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती आज यहाँ आइपुगेका हुन् ।
अयोध्याबाट आएका अतिथिहरूलाई आज रंगभूमी मैदानमा आयोजना गरिएको धनुषयज्ञमासमेत सहभागी गराइएको थियो ।
सोमबार रात्रि मटिहानीमा विश्राम गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम आइपुगेको छ ।
साताव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंसिर १६ गते आइतबार नगर दर्शन, दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन आज मंगलबार धनुष यज्ञ, चौथो दिन १९ गते बुधबार तिलकोत्सव, पाँचौं दिन २० गते बिहीबार मटकोर, छैटौं दिन २१ गते शुक्रबार स्वयंम्बर तथा शुभ विवाह र सातौं दिन २२ गते शनिबार रामकलेवापश्चात् समापन गरिनेछ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


