बारा, १८ मंसिर । मंसिर १ गतेदेखि सुरु भएको प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जिल्लाका १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुखप्रशासकिय अधिकृतहरुको बैठकले १६ वटै पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रत्येक पाँच–पाँच बर्षमा लाग्ने गढीमाई मेला बाराको महागढीमाई नगरपालिका बरियारपुरमा लाग्दै आएको छ । मेलाको अवसरमा सम्पूर्ण कार्यालयहरु ,शैक्षिक संस्थाहरु, संघ संस्थाहरु ,बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि २४ गतेसम्म बन्द रहने छन् ।

गढीमाई मेला मंसिर ३० गतेसम्म लाग्ने छ । शनिवार देखिनै मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ । बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल व्यवस्थापन समितिले जनाएको छ ।

यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गतेसम्म बिदा रहने बारे सुचना मार्फत नगरबासिलाई जानकारी दिइसकेको छ ।

जिल्लाका अन्य पालिकाहरुले पनि निर्णय अनुसार विदाबारे सुचना प्रकाशन गरिरहेको पालिकाहरुले जनाएका छन् ।