जनकपुरधाम, १६ मंसिर । दलित समुदायलाई बजेट सञ्चालन गर्न मुख्य भूमिका दिईने प्रतिबद्धता व्यक्त गरिएको छ । धनुषाको मुखियापट्टि मुसहरनीया गाउँपालिका वडा न. १ का वडाध्यक्ष लक्ष्मेश्वर यादवले सो कुरा प्यानल डिस्कसन कार्यक्रममा बताएका हुन् ।

मुखियापट्टि मुसहरनीया गाउँपालिका वडा नं. १ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा दलित अधिकार, संवैधानिक व्यवस्था र कार्यान्वयन विषयमा प्यानल डिस्कसन भएको थियो । पालिका स्तरीय मुखियापट्टि मुसहरनीया युवा सञ्जालको आयोजना र सेफ नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

यस पालिकामा र वडामा दलित समुदायको जनसंख्या कति छ ? र, उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कस्तो छ ? समाजमा दलित समुदाय सामाजिक भोजभातमा संगै खान दिएको छ ? पालिकामा दलित कर्मचारी कति छन् ? भन्ने प्रश्नमा समाजसेवी रामनन्दन भने, ‘पालिकामा जम्मा कति दलित समुदायको जनसंख्या छ भन्ने कुराको एकिन छैन तर वडा न. १ मा २०/२५ घर मात्र दलित समुदायको बासिन्दा छ । समाजमा सबै खालको मानिसहरु हुन्छ । पहिलेको तुलनामा अहिले विभेद कम भएको छ । सामाजिक रुपमा भोज भात खाने चलन छ यहाँ । पालिकामा श्रेणी बिहिन सरसफाईमा कर्मचारी छन् मुख्य पद धेरै छैन ।’

विद्यालयमा दलित विद्यार्थीको कति संख्या छ ? उनीहरुलाई कस्तो व्यवहार गरिन्छ ? खाजा वितरणको बेला विभेद त गरिदैन ? छात्रवृति समयमा वितरण गरिन्छ ? लगाएतका प्रश्नको उत्तरमा प्रधानाध्यापक श्याम महतो भने, ‘दलित विद्यार्थीको संख्या करिब २५/३० प्रतिशत रहेको छ । कसैलाई विभेद गरिदैन । छात्रवृत्ति रकम समयमा बाँडिएको छ । यो कुरामा समाजको महिलाहरुले पुष्टि गर्नु भयो ।’

दलित महिलाको अवस्था कस्तो छ ? दलित महिला वडा सदस्यलाई योजना छनोट, बजेट निर्माण प्रक्रिया तथा निर्णय प्रक्रिया सक्रिय सहभागिता गराउँछ कि नाई ? कि सहि छाप मात्र लगाउछ ? भन्ने प्रश्नमा पुर्व दलित महिला वडा सदस्य रामसति देवी रामले जवाफमा भनिन,‘पहिलेको तुल्लामा छोरीहरु पढाई लिखाई गर्दैछ । सुधार छ । तर समाजमा विभेद कायमै छ । योजना छनोट, बजेट निर्माण प्रक्रिया तथा निर्णय प्रक्रिया सहभागी गराउँछ । तर योजना चलाउन दिएको छैन ।’

यस पालिका र वडामा दलित समुदायको जनसंख्या कति छ ? र, उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कस्तो छ ? छुवाछुतको अवस्था कस्तो छ ? समाजमा दलित समुदाय सामाजिक भोजभातमा संगै खान दिएको छ ? पालिका कति दलित कर्मचारी छन् ? अब दलित समुदाय उत्थानको लागि के के पहल गर्नु हुन्छ ? भन्ने प्रश्नको जवाफमा वडाध्यक्ष लक्ष्मेश्वर यादव भने, ‘पालिकामा जम्मा कति दलित समुदायको जनसंख्या छ भन्ने कुराको एकिन छैन तर वडा न. १ मा दलित समुदाय कमै छन् । पहिलेको तुलनामा अहिले विभेद कम भएको छ । सामाजिक रुपमा भोज भात खाने चलन छ । सवै ठाउँमा छुवाछुत छैन । पालिकामा श्रेणी बिहिन सरसफाईमा कर्मचारी छन् । मुख्य पद खासै धेरै छैन । तर अब दलित समुदायलाई योजना छनोट, बजेट निर्माण प्रक्रिया सहभागी गराउनेछु ।’

कार्यक्रमको अध्यक्षता मुखियापट्टि मुसहरनीया युवा सञ्जालका अध्यक्ष पप्पु रामले गरेका थिए । बिषय विज्ञको रुपमा दलित अधिकारकर्मी सिजेन्द्र सदाले दलित समुदायको आन्दोलन, संघर्ष, अधिकार र संबैधानिक व्यवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

द एसिया फाउण्डेशनको मुख्य कार्यान्वयन संस्था रहेकोमा युएसआइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिवर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिकामा युवा सञ्जाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।

प्यानल डिस्कसनमा कार्यक्रममाथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिताको बारेमा सेफ नेपालका संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गरेका थिए भने कार्यक्रममा युवा सञ्जालको तर्फबाट राम आशिष यादवले सञ्चालन प्रश्न गर्दै वक्ताहरुलाई सवाल जवाफ गरेका थिए । सहभागीहरु मध्ये ४ जनाले वक्ताहरुलाई प्रश्न गरेका थिए । वक्ताहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको शुरुवात सेफ नेपालका कार्यक्रम अधिकृत प्रतिभा झाले गरेकी थिइन् ।