जनकपुरधाम, १६ मंसिर । मधेश प्रदेशमा एचआईभी संक्रमितको अनुमानित संख्या ४ हजार ८१९ रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार मधेशमा सो संख्यामा एचआईभी संक्रमितहरु रहेको पाइएको छ ।

जसमध्ये १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ४ हजार ३३२ र १८ वर्ष मुनिका १८४ जना बालबालिका उपचारको क्रममा रहेका छन् । १८ वर्ष मुनिकाहरुमध्ये बालिका ६९ जना, बाबु आमा दुबै नरहेका २० जना, बाबु वा आमा मध्ये एकजना मात्र रहेका ६६ जना र १२ वर्ष मुनिका १०९ जना बालबालिकाहरु उपचारको क्रममा रहेका छन् ।

जिल्लागत हिसाबले सबैभन्दा बढि पर्सा जिल्लामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका १ हजार ३९६ जना र १८ वर्ष मुनिका २२ जना एचआईभी संक्रमितहरु उपचारको क्रममा रहेका छन् ।

त्यस्तै, धनुषामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ८२२ र १८ वर्ष मुनिका ३७ जना उपचारको क्रममा छन् । सप्तरीमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका १८१ र १८ वर्ष मुनिका ६ जना उपचारको क्रममा रहँदा सिरहामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ४२१ र र १८ वर्ष मुनिका २५, महोत्तरीमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ३६४ र १८ वर्ष मुनिका १८, सर्लाहीमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ५२० तथा १८ वर्ष मुनिका २१, रौतहटमा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका ३९० र १८ वर्ष मुनिका २७ एवम् बारामा १५ देखि ४९ वर्षसम्मको उमेर समूहका २३८ तथा १८ वर्ष मुनिका २८ जना बालबालिकाहरु उपचारको क्रममा छन् ।

मधेशमा १० वटा सरकारी र एउटा गैरसरकारीसहित ११ वटा जाँच तथा परामर्श केन्द्रहरु सञ्चालनमा छन् । त्यस्तै, १० वटा सरकारी र एउटा गैरसरकारीसहित कूल ११ वटा उपचार केन्द्रहरु पनि यस प्रदेशमा छन् ।

मधेश प्रदेशमा ८ वटा गैरसरकारी निःशुल्क औषधि वितरण केन्द्र, वीरगञ्जको नारायणी अस्पतालमा लागुपदार्थको मौखिक पद्धतीद्वारा उपचार केन्द्र सञ्चालमा छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भाईरल लोड परिक्षण केन्द्रसमेत सञ्चालन गरिएको छ ।

यस प्रदेशका सबै स्वास्थ्य संस्थाहरुमा संक्रमित आमाबाट जन्मिने बच्चामा एचआईभीको संक्रमण रोकथाम सम्बन्धि सेवाहरु उपलब्ध रहेका छन् ।

नेपालको सन्दर्भमा भने सन् १९८८ यता एचआईभीबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ७१ हजार ५३८ रहेकोमा एड्ससँग सम्बन्धित कारणहरुबाट २९ हजार ८९० जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ ।

विश्वमा ८ करोड ८४ लाख मानिस एचआईभी सङ्क्रमित र ४ करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआईभी सङक्रमित भएका थिए ।

आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभर ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।