जनकपुरधामका शैक्षिक संस्थाहरु आजदेखि खुल्यो, ३० दिनभित्र कार्यविधि बनाइसक्ने सहमति

जनकपुरधाम, ११ मंसिर । जनकपुरधामका शैक्षिक संस्थाहरु आजदेखि सञ्चालनमा आएका छन् ।
विगत एक हप्ताभन्दा बढि समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु आजदेखि सञ्चालन गर्ने सहमति भएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा सोमबार बसेको वृहत् बैठकबाट बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने विषयमा सहमति भएको जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र बिक्रम साहले बताए ।
उनले सोमबारको बैठकमा मंगलबारदेखि विद्यालय सुचारु गर्ने निर्णयसँगै छात्रवृत्तिको मुद्दालाई एक महिनाभित्रै एउटा समिति बनाएर समाधान गर्ने सहमति भएको जानकारी दिए ।
सचिव साहले उपमहानगरको शिक्षा सम्बन्धी कार्यविधि बनाउनका लागि ७ वा ९ सदस्यीय समिति गठन गरि ३० दिनभित्र कार्यविधि बनाइसक्ने सहमतिपश्चात् नीजि विद्यालयका संगठनहरुले विद्यालय सञ्चालन गर्ने सहमति जनाएको जानकारी दिए ।
सो समितिमा नीजि विद्यालयका संगठनबाट दुई, जनकपुरधाम उपमहानगरपालिकाबाट दुई, विद्यार्थी संगठनबाट दुई, नागरिक समाजबाट दुई र जनकपुरधाम उपमहानगरपालिकाबाट एकजना प्रतिनिधि रहने भएका छन् ।
समितिले कार्यविधि निर्माण गर्नका लागि पहल गर्दै ३० दिनभित्र कार्यविधि बनाइसक्ने निर्णय भएको बताइएको छ ।
नीजि विद्यालयहरुको संगठन हिसान, एनप्याब्सन, प्याब्सन, एमप्याब्सन र नेपाल प्याब्सनले एक हप्ताभन्दा बढि समयदेखि जनकपुरधामका शैक्षिक संस्थाहरु बन्द गरि आन्दोलित बनेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


