जनकपुरधाम, ९ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाले तिरहुत हाईस्कूलका प्रधानाध्यापक रविन्द्र कुमार चौधरीलाई नगर शिक्षा समितिको सदस्य पदबाट बर्खास्त गरेको छ ।

प्याब्सन धनुषाका जनकपुरधाम नगर अध्यक्षसमेत रहेका चौधरीलाई आइतबार उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र लाल कर्णले एक पत्र काट्दै पदबाट बर्खास्त गरेका हुन् ।

नगर शिक्षा समिति जनकपुरधाममा चौधरीलाई संस्थागत विद्यालयको प्रिन्सिपलको हैसियतमा समितिले मनोनयन गरेकोमा उनीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महोत्तरी जिल्ला अन्तर्गत सामुदायिक विद्यालयको करार शिक्षकको रुपमा कार्यरत रहेको भनि उजुरी परेकोले पदबाट बर्खास्त गरिएको कर्णले बताए ।

प्रधानाध्यापक चौधरी सामुदायिक विद्यालयको करार शिक्षकमा कार्यरत रहेको प्रमाणित भइसकेकोले उनलाई आइतबार पदबाट बर्खास्त गरिएको बताइएको छ ।