जनकपुरधाम, ८ मंसिर । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले मंसिर १ गतेदेखि कर सप्ताह सुरु गर्दै ७ गतेसम्म तेह्रौँ राष्ट्रिय कर दिवस मनाएको छ ।

‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ कार्यालयले यस वर्षको राष्ट्रिय कर दिवस मनाएको हो ।

मंसिर १ देखि सुरु भएको राष्ट्रिय कर दिवस २०८१ को कर सप्ताहको समापन कार्यक्रममा आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताले कार्यालयको अबको उद्देश्य भनेकै करदाता आफैंले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने रहेको बताए ।

उनले उद्योगी व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्ने आवश्यकता रहेको बताए । मधेश प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार र करदाताले आपसी मित्रवत् व्यवहारबाट कर सङ्कलन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर कसैले पनि छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्न सबैसँग आग्रह गरे । जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाअध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासो गरे ।

त्यस्तै, नेपाल पत्रकार महासंघका धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले भन्सार राजस्वमा वृद्धि गर्न तथा व्यवसायिक वातावरण बनाउन सबैसँग आग्रह गरे ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय जनकपुरधामले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुली सम्मानित भएका थिए ।