जनकपुरधाम, ७ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले चीनको बीआरआई परियोजनाअन्तर्गत ऋण लिन नसकिने पार्टीको निष्कर्ष रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता निधिले बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नसकिने पार्टीको निष्कर्ष भएको बताएका हुन् ।

नेता निधिले बीआरआईको विषयमा व्यापक छलफल नभएसम्म त्यो सम्झौता गर्न नहुने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

उनले भने, ‘अब कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी हामी के चाहन्छौँ भने केनेक्टिभिटीका कुरा सुरुङमार्ग, सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदान दिने कुरा नै चिनियाँ सरकारको कयौँ वर्षदेखि कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्यो । अनुदान नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ ? अहिले हाम्रो ऋणको भार पनि धेरै भएको छ । त्यसकारण चिनियाँ सरकार मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामीले अब ऋण लिने कुरामा जानु हुँदैन ।’

बीआरआई सम्झौतामा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने सुझाव आफूहरूको रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव छ ।

बीआरआईको विषयलाई लिएर सरकारको भविष्य संकटमा रहेको विषय निराधार रहेकोसमेत उनले बताए ।

नेता निधिले मंसिर १० गते सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा जनकपुरधाम आउन लागेकोसमेत जानकारी दिए । जनकपुरधाम–२५ लोहनामा कांग्रेसका दिंवगत नेता अरविन्द ठाकुरको शालिक अनावरण कार्यक्रममा देउवा आउने कार्यक्रम रहेको उनले बताए ।