नगराईन नगरपालिकाको कामकाज एक महिनादेखि ठप्प

जनकपुरधाम, ६ मंसिर । पाँच महिनादेखि तलब नपाएपछि धनुषाको नगराईन नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । तलब नपाउँदा जीवन निर्वाह गर्न समस्या भएपछि कर्मचारीहरूले गत कार्तिक ८ गतेदेखि विरोधका कार्यक्रम जारी राखेका हुन् । सोही क्रममा कर्मचारीहरु प्रशासनिक भवनमा ताला लगाएर धर्नामा बसेका छन् ।
नगरपालिका अर्न्तगतका स्वास्थ्य संस्था, वडा कार्यालय, नगरपालिकाको कार्यालय पुर्ण रुपमा बन्द गरी कामकाज ठप्प गरेर कर्मचारी आन्दोलित बनेका हुन् ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को नगरसभा हुन नसक्दा कार्यालयले हालसम्म शिक्षक र कर्मचारीको तलब खुवाउन सकेको छैन ।
गत भर्दौ २६ गते नगर प्रमुख विनयकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णलाई शिक्षक र कर्मचारीहरुले तत्काल माग सम्बोधन गर्न ज्ञापन–पत्र बुझाएपनि उनीहरुले कुनै वास्ता नगर्दा संयूक्त आन्दोलन परिचालन समिति गठन गरि तलबभत्ता पाउनु पर्ने र वृति विकासको सुनिश्चितता हुनुपर्ने दुई सुत्रीय मागसहित कार्तिक ८ गतेदेखि शिक्षक र कर्मचारी आन्दोलित भएको संघर्ष समितिका अध्यक्ष विशेश्वरप्रसाद साहले बताए ।
उनीहरुको आन्दोलनले नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयका ३ हजार विद्यार्थी पठनपाठनबाट बञ्चित रहेका छन् ।
नगराईनमा अझै नगरसभा हुन सकेको छैन । त्यहाँ मेयर र उपमेयरबिच चर्किएको आन्तरिक द्वन्द्वले नगरसभा हुन नसकेको बताइएको छ । असारभित्र स्थानीय तहको नगरसभा गरिसक्नुपर्ने प्रावधान छ । तर मेयर र उपमेयरबीचको विवादका कारण करिब ६ महिनादेखि नगरसभा हुन सकेको छैन् ।
पालिकामा प्रमुख/उपप्रमुखबिच चर्किएको विवादका कारण नगरसभा अनिश्चित बनेको मेयर यादवको स्वीकारोक्ति छ ।
उनले भने, ‘पालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई तिहाइ छ, यही आडमा उहाँहरुले मसंग बार्गेनिङ्ग गर्नुहुन्छ, जुन बेठीक हो । यो सब मलाई असफल बनाउने दाउ हो, उपमेयरको यही हतकन्डाका कारण नगरसभा हुन सकेको छैन ।’
‘असार १० मा नगरसभा गर्नेमा एमाले, कांग्रेस, लोसपा नेपाल लगायतका सबै दल सहमत थिए, हामी नगर सभाका लागि समयमै पुगेका थियौँ, उनले भने ‘नगरसभा गर्ने उहाँहरु सहमति त गर्नुभयो, तर बिना कारण त्यो उपस्थित नै हुनुभएन । जसकारण उहाँहरुको मानसिकता घाम जस्तै छर्लङ भयो । त्यो बेलादेखि नै यो सिलसिला अहिलेसम्म जारी छ ।’
यता उपमेयर राधादेवी यादवले पनि आफूहरुको माग पूरा नगर्दा आफूहरुले नगरसभा बहिष्कार गरेको स्वीकारिन् । उनले नगरसभामा स्थानीय कार्यविधि संचालन सम्बन्धी ऐन नै संशोधन गरी ‘र’ शब्द हटाई ‘वा’ शब्द राखेर मेयर÷उपमेयरले नगरको विकास निर्माणको निर्णय लिन पाउनुपर्ने व्यवस्था कायम गर्नुपर्ने बताइन् ।
यता, बुधबार बसेको कार्यपालिका बैठकमा कार्यविधि संशोधन गरेर नगरसभा गर्ने सहमति भएको वडा नम्बर–९ का वडाध्यक्ष प्रमोद राउतले बताए ।
नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसका ५ र लोसपा नेपालबाट १ जना जनप्रतिनिधि छन् । मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित छन् भने नेकपा एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


