जनकपुरधाम, १२ कार्तिक । पूर्वराष्ट्रपति डा. रामवरण यादवले तराई मधेशको शिक्षास्तर कमजोर हुनु दुःखद रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा राजर्षिजनक विश्व विद्यालयको सातौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेशको शिक्षा र स्वास्थ्यको अवस्था कमजोर भएको कुरा पत्तै लाग्न नसकेको बताएका हुन् ।

पूर्वराष्ट्रपति डा. यादवले सबै विद्यालय निर्माणको कामको पहलकदमी राजनीतिक दलका नेताहरुले नै लिएको र त्यसपछि समाज शिक्षित बनेपनि पछिल्लो समय शिक्षा र स्वास्थ्य धारासायी बनेको बताए । कार्यक्रममा उपस्थित लोसपा अध्यक्ष महन्त ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य धरासायी बनेको भन्ने तर्कमा समर्थन सहित प्राकृतिक स्रोत र कृषि उत्पादन पनि ध्वस्त भएकाले यसमा पनि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा लोसपा अध्यक्ष महन्त ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्व विद्यालय स्थापनापश्चात् अहिले यसलाई बचाउनु सबैको कर्तव्य रहेको बताए ।

कांग्रेस नेता विमलेन्द्र निधिले आफुहरु विश्व विद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउनेसम्मको काम गरेको स्मरण गराउँदै २०७४ सालमा संघिय सरकारले विश्व विद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तो खुसी महशुस भएको बताए ।

विश्व विद्यालय स्थापनामा अहम भूमिका खेलेको भन्दै नेता ठाकुर, कांग्रेस नेता तथा पूर्वउपसभापति विमलेन्द्र निधि, तत्कालिन धनुषाका जिविस सभापति तथा कांग्रेस प्रदेश सांसद रामसरोज यादवलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, माओवादी नेता भरत साह, विश्व विद्यालयका कुलपति डा. अमर प्रसाद यादव सहितको उपस्थिती रहेको थियो ।