काठमाडौं, ७ कार्तिक । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारी गरेको छ ।

गत असोज १३ गते बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, जनजीविकाको साथै विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको थियो ।

सरकार गठन भएको सय दिनको समीक्षा गरी खबरदारी सभा गर्ने निर्णय समेत गरेको थियो । ओली सरकार गठन भएको बुधवार सय दिन पुगेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती, विशेष प्रदेश, समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिएका थिए ।

पदाधिकारीको निर्णयलाई कार्यान्वयन गर्न माओवादीको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय समितिले संयुक्त रूपमा विशेष परिपत्र पठाएको छ । साथै केन्द्रीय पदाधिकारीको निर्णयसहित सरकारविरुद्ध खबरदारी गर्नुपर्ने १० कारण परिपत्रमा उल्लेख छ ।

माओवादीले १० गते बिहान ११ बजे काठमाडौँ मलमा जम्मा भई जनप्रदर्शनसहित भृकुटीमण्डपमा पुगेर खबरदारी सभा गर्दै छ । पार्टीले खबरदारी सभा गर्नपर्नुको कारणबारे १० बुँदामा मातहतका कमिटीलाई सर्कुलर नै पठाएको छ ।