सुनसरी, २ कार्तिक । रेडियो नेपालले दनुवार भाषामा पनि समाचार प्रसारण सुरु गरेको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले दनुवार भाषामा समेत समाचार प्रसारण गर्न सुरु गरेको हो ।

रेडियो नेपालले गत असोज ३० गते बुधबारदेखि दिनको ३ः१५ बजेबाट दनुवार भाषामा समेत समाचार प्रसारण सुरु गरेको छ ।नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा उक्त भाषाको समाचार सुरु गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिए ।

रेडियो नेपालले दनुवार जागरण समितिलगायतका सरोकारवालाहरुको अनुरोध र भाषा आयोगको सिफारिसमा २५औँ राष्ट्रिय भाषाको रुपमा बागमती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण सुरु गरेको कार्यकारी निर्देशक लामाले बताए ।

दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यका साथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिए ।

भाषा आयोगले अतिसिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाशिल गरेको थप उपलब्धी भएको उनले बताए ।

यसैबिच, दनुवार जागरण समितिले दनुवार भाषामा समाचार प्रसारण सुरु गरेकोमा सम्बद्ध सबैमा आभार व्यक्त गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष राम कुमार सिंह दनुवारले एक विज्ञप्ती जारी गर्दै संस्थाको अनुरोध तथा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाको पहलमा भाषा आयोगबाट सिफारिस भई समावेशी प्रसारणमा रेडियो नेपालबाट “दनुवार“ भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ भएकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले अतिसिमान्तकृत जातिमा पर्ने दनुवार जातिको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ भएको ऐतिहासिक कार्यका लागि सहयोग गर्ने नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्ग, रेडियो नेपालका कार्यकारी निर्देशक, दनुवार जातिका प्रबुद्धवर्ग लगायत सबैमा आभार व्यक्त गरेका छन् ।

दनुवार भाषा विशेषगरी नेपालको सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत ६२ वटा जिल्लामा बोलिन्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यो समुदायको कुल जनसंख्या ८२ हजार ७८४ अर्थात् कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्कअनुसार नेपालमा दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसंख्याको ०.१७ प्रतिशत हो ।