जनकपुरधाम, ३० असोज । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता मो. सहजाद मियाँ (मिकरानी)ले आफू नै पार्टीको कामचलाउ अध्यक्षको भूमिकामा रहेको दाबी गरेका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि मियाँले पार्टी अध्यक्षबाट राजीनामा गरिसकेका रामकुमार महतो अब भने पार्टीको आधिकारीक व्यक्ति नरहेको दाबी गरेका हुन् ।

उनले महतोको रबैयाका कारण आज नेपाल सद्भावना पार्टी आफ्नो इतिहासको संकटको घडीमा रहेको बताएका छन् । पार्टीको सातांै राष्ट्रिय महाधिवेशन यहि मंसिर १, २ र ३ गते वीरगञ्जमा हुन गइरहेको जानकारी दिंदै उनले पार्टीका तत्कालिन अध्यक्ष रामकुमार महतोकी श्रीमति कविता कुमारी निजामति कर्मचारीमा जागिरे भएको कारण पार्टीबाट दिएको राजीनामा गत बैशाख २२ गतेको बैठकबाट स्वीकृत भइसकेको बताए ।

महतो यस भन्दापूर्व नै उन्मुक्ती पार्टीमा प्रवेश गरि पार्टी परित्याग गरिसकेको अवस्थामा पार्टीको एकमात्र पदाधिकारी वरिष्ठ नेताको हैसियताले आफ्नो अध्यक्षतामा १६ सदस्यीय राष्ट्रीय कार्य समितिको बैठक बसी पार्टीको महाधिवेशन वीरगञ्जमा सम्पन्न गराउने निर्णय गत असार १४ मा गरिएको बताए । सोही बैठकले पूर्वमन्त्री रामचन्द्र प्रसाद कुशवाहाको संयोजकत्वमा १६ सदस्यीय राष्ट्रिय कार्य समितिलाई विस्तार गरी ५९ सदस्यीय महाधिवेशन आयोजक समिति नै हाल पार्टीको आधिकारिक समिति रहेको उनको दाबी छ ।

उनले भने, ‘अध्यक्षले राजीनामा गरिसकेको अवस्थामा तत्कालिन १६ सदस्यीय राष्ट्रिय कार्यसमितिले कार्यवाहक अध्यक्ष नतोकेपनि हालसम्म मैले नै कामचलाउ अध्यक्षको भूमिकामा बैठकहरुको अध्यक्षता गरिरहेको थिए । एक्कासी असोज १० गतेका दिन कविता कुमारीको अध्यक्षतामा बैठक बसी निर्णय संसोधन, उपनिर्वाचनको लागि दल दर्ता, महाधिवेशनको ठाउँ परिवर्तन, उम्मेदवारको लागि अख्तियारी प्रदान गर्ने जस्ता निर्णयहरु उपर निर्वाचन आयोगमा मेरो निवेदनका आधारमा उनी आधिकारीक अध्यक्ष नरहेको भनी सम्पूर्ण निर्णयहरू अमान्य गरिएको थियो ।’

उनले यस्तो अवस्थामा पार्टी परित्याग गरिसकेका रामकुमार महतोले कार्यकारी अध्यक्षको हैसियतले जिल्ला जिल्लामा संयोजक तोकी भ्रम फैलाइरहेको आरोपसमेत लगाए । पार्टी अध्यक्षबाट राजीनामा गरिसकेको व्यक्ति र पार्टी परित्याग गरिसकेका व्यक्तिहरु कहिले बैठकको अध्यक्षता गर्ने, कहिले आर्थिक सहयोगका लागि चिट्ठी लेख्ने जस्ता कार्य गरी महाधिवेशन भाँडने काम गरिरहेको उनको आरोप छ । पार्टीमै नरहेका व्यक्तिहरु नभएको पद र ओहोदाको प्रयोग गरि ठगीधन्धा चलाइरहेको बताउँदै मिँयाले पार्टी यस विषयमा कानूनी कारवाही गर्न पछि नपर्ने चेतावनीसमेत दिएका छन् ।