जनकपुरधाम, २१ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिनहरुको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री सिंहले सोमबार धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मरम्मत केन्द्र) मा थान्कोमुन्को लगाइएका आठवटा वाष्प इन्जिनको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटनसँग जोड्न रेल्वे संग्रहालय स्थापनामा जोड दिँदै सोका लागि संघ सरकार तथा अन्य सम्बद्ध संघीय निकायसँग आफूले पहल गर्ने बताएका छन् । उनले संग्रहालय स्थापनासँगै खजुरी क्षेत्रलाई विभिन्न मार्गबाट जोड्ने पूर्वाधार समेत विकास गरिनुपर्ने उल्लेख गरे ।

उनले नेपालसँगै विश्वको परिवहन इतिहासको विकासक्रमको साक्षी ती इन्जिनको अवलोकन तथा पुरानो रेल्वे प्रविधिको अध्ययन गर्न संग्रहालय संसारभरिकै पर्यटकका लागि ठोस गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

भारतबाट गोलिया काठ ओसार्ने उद्देश्यले विसं १९९४ मा सुरु भएको जयनगर–जनकपुर–विजलपुरा रेलसेवा सञ्चालनका लागि ती इन्जिनहरूको प्रयोग गरिएको थियो ।

जनकपुर–जयनगर रेलसेवाका लागि डिजल इन्जिनको आएपछि र विसं २०७० मा ब्रोडगेज रेल्वे सञ्जाल विकास हुन थालेपछि ती ऐतिहासिक वाष्प इन्जिन प्रयोगविहीन अवस्थामा पुगेको हो ।

तस्बिर र शब्द : सिएम प्रेस