जनकपुरधाम, २१ असोज । जनकपुरधाममा सांस्कृतिक नृत्य झिझिया महोत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको छ ।

नवमिथिला फाउन्डेसनको आयोजनामा आगामि बुधवार झिझिया महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष अमित कुमारले बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले गाउँगाउँका झिझिया टोली सँगै यसपटक दुइ स्थानीय विद्यालयका छात्राहरु समेतको झिझिया नृत्य प्रस्तुत हुने जनाएको छ । पहिलोपटक पाँच सय जना टाउकोमा घैँटा राखेर झिझियाको गीतमा नाच्ने छन् ।

जनकपुरधामस्थित रेल्वे स्टेसनको प्राङ्गणमा हुने महोत्सवमा मैथिली पारम्परिक झिझिया लोक गान र नृत्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजन हुन लागेको संस्थाका उपाध्यक्ष आदित्य नेपालले बताए ।

कार्यक्रममा स्थानीय लोक गायकहरूको समेत सहभागीता रहनेछ । ललित कामतको एकल लोकगीत गायन हुने सँगै स्थानीय युवा कलाकारहरुको एक टोली जनकपुरियन बैंडलाई झिझिया महोत्सवमा पहिलो पटक प्रस्तुति गराउन लागिएको हो । फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ ।