झापा, २१ असोज । झापा प्रहरीले हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र एक नाबालक रहेको प्रहरीले जनाएको छ ।

गते जेठ १५ गते राति साढे ११ बजेतिर बाह्रदशी गाउँपालिका–५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजाम वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । लगत्तै खोजी तथा अनुसन्धानमा खटिएको प्रहरी टोलीले केही संकित व्यक्तिमाथि सोधपुछ गरेको थियो ।

अनुसन्धानकै क्रममा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा अस्थिपञ्जर भेटिएको थियो । उक्त अस्थिपञ्जर हजामकै भएको पुष्टि भएपछि थप अनुसन्धान गरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।