जनकपुरधाम, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका कार्यालय प्रमुख राम बहादुर कुरुम्वाङले प्रदेश प्रमुख भण्डारी समक्ष आर्थिक वर्ष २०८०/०८१ मा अख्तियारले सम्पादन गरेका काम कारबाहीहरु समेटेर तयार गरिएको चौंतीसौं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

कार्यालय प्रमुख कुरुम्वाङले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले जानकारी दिए ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा गरि मधेश प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छयौट भएको उल्लेख छ । प्रदेशमा सबैभन्दा बढी धनुषामा २०७९/०८० मा ४२१ तथा २०८०/०८१ मा १ हजार १ सहित कूल १ हजार ४ सय २२ उजुरी परेकोमा १ हजार ५६ उजुरी फर्छयौट भएका छन् ।

बारामा कुल १ हजार २ सय ७ उजुरी मध्येमा ८ सय ८७, सप्तरीमा १ हजार १ सय ७० मध्ये ९७१, रौतहटमा १ हजार ३५ मध्ये ७ सय ३४, महोत्तरीमा १ हजार २२ मध्ये ८ सय ३४ उजुरी फर्छयौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, पर्सामा ९ सय ५६ मध्ये ६ सय ९१, सिरहामा ८ सय ८१ मध्ये ६ सय ८७ र सर्लाहीमा ८ सय ३६ मध्ये ६ सय ४२ उजुरी फर्छयौट भएको प्रतिवेदनमा उल्लेख छ ।