क्षति नियन्त्रणका लागि प्रदेशका आठै जिल्लालाई १/१ करोड विनियोजन गर्ने मधेश सरकारको निर्णय

जनकपुरधाम, १३ असोज । अविरल वर्षाले भएको क्षति नियन्त्रणका लागि मधेश प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लालाई १/१ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सोसँगै मधेशमा बाढीबाट भएको सडक क्षती पुर्ननिर्माणका लागि पनि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई तत्कालै ५ करोड रुपैयाँ विनियोजन गरेको हो । त्यसमध्ये १/१ करोड रुपैयाँ नदी नियन्त्रणमा खर्च गर्न भनिएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताए ।
मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रीको अगुवाईमा प्रादेशिक सुरक्षा समितिको बैठक बसेर प्रदेशका जिल्लाहरुको कुन वडामा कति क्षती भएको छ त्यसको वडा स्तरीय क्षतीका विवरण संकलन गर्नसमेत निर्देशन दिइएको नले बताए ।
मुख्यमन्त्री सिंहले बाढीपहिरोको प्रकोपले मधेश पनि अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भएपनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमति नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया तथा बागमती नदीका कारण बलरा नगरपालिका सहितका पालिकाहरु अति प्रभावित भएको बताउँदै सुरक्षा निकायसँग समन्वय गरेर हाई एर्लट गराई रेस्कयुको निर्देशन दिइसकिएको बताए ।
उनले मन्त्रीपरिषद्को बैठकबाट सम्पूर्ण दातृनिकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह समेत गर्ने निर्णय भएको बताए । मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदानका लागि पुग्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


