संविधान दिवसको विरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम, ३ आसोज । संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
बिहीबार बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
त्यसअघि आजै बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको विरोध गरेका थिए ।
‘असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रोलागि कालो दिन हो र रहिरहन्छ ।’ नेतृ बिभा ठाकुरले बताइन् ।
कार्यक्रमका संयोजक इश्वर पण्डितले भने, ‘मधेश र मधेशीका लागि यो कालो दिननै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको दमनको स्मरण गराइ रहने छौं ।’
कार्यक्रममा तमलोपाका नेताहरु असगर अली, जोगी राय, रामजी राय, भोला झा, बिन्दु ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, सुभाष कर्ण, रमेश अधिकारी, भगिरथ लाल, जयनाथ नायक, नबीन सिंहलगायतकाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


