शपथ ग्रहण अगावै नरेन्द्र व्यापारीको काममा खटे

जनकपुरधाम, २ असोज । जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरु निर्वाचित भएदेखि अहिलेसम्म बधाई र सम्मान कार्यक्रममै व्यस्त देखिएका छन् । उनीहरु सोमबारदेखि नै उनीहरुको सम्मानमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहँदा संघका नवनिर्वाचित सचिव नरेन्द्र बिक्रम साह (निरज) भने शपथ ग्रहण अगाडिनै काममा लागेको देखिएको छ । आफ्नो घोषणापत्रमा निर्वाचित भएको दुई दिनभित्रै काममा खट्ने प्रतिबद्धता जनाएका नरेन्द्र सोहीअनुरुप व्यापारीहरुको हित हुने काममा लागेका छन् ।
निरजले व्यवसायीलाई मिस म्याचबाट जोगाउन संघमा व्यवसाय सम्बन्धीको पूर्ण हेल्प डेस्क सञ्चालन गर्नेदेखि उद्योगी, व्यवसायीमैत्री घोषणा पत्र सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालबाट पनि निरजलाई भोट माग्नेको ओईरो लागेको थियो ।
फलतः परिणाम सार्वजनिक भएको भोलिपल्टै स्थानीय व्यापारीहरुले आफूलाई मत दिएर जिताएको कुरालाई आत्मसात गर्दै नरेन्द्रले पसलै पसल घुमेर व्यापारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यसपछि बुधबार उनले मधेश प्रदेशमा भर्खरै आएका नयाँ प्रहरी नायव महानिरिक्षक (डीआईजी)सँग भेटघाट गर्दै यहाँका व्यापारीहरुको समस्या सुनाएका छन् ।
प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यलाई स्वागत गर्दै उनले आफ्ना केही कुराहरु पनि राखेका छन् । नरेन्द्रले आउँदै गरेको दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरि सिमानाकामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन आग्रह गरेका छन् ।
उनले सिमानाकामा भइरहेको तस्करीलगायत अन्य गतिविधिहरुमाथि प्रभावकारी निगरानी गर्न डीआईजी आचार्यसँग आग्रह गरेका छन् । स्थानीय प्रशासनले सिमानाकामा निगरानी बढाउँदा यहाँका व्यापारीहरुलाई फाईदा हुने भएकाले आफूले यस्तो आग्रह गरेको नरेन्द्रले बताए ।
जवाफमा प्रहरी नायव महानिरिक्षक आचार्यले यस विषयमा आफू संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । डीआईजी आचार्यले मंगलबारमात्रै जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितीमा भर्चुअल मिटिङ गरेका थिए । उनले उक्त मिटिङमा सम्पुर्ण प्रहरी कर्मचारीहरुले आ–आफ्नो तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्नुपर्ने लगायत समसामयिक विषयवस्तुहरुमा आवश्यक निर्देशनसमेत दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


