मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत

काठमाडौं, २ असोज । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।
त्यस्तै २० असोजमा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र २ मंसिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि १६ मंसिरमा निर्वाचन हुनेछ ।
आयोगका अनुसार २०८१ मंसिर १५ गतेसम्म १८ वर्ष पूरा हुनेले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न सक्नेछन् ।
‘मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८१ भदौ ३१ सम्म देशभरबाट सङ्कलित तथा २०८१ मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रकृयामा लगिने छ’, प्रवक्ता सापकोटाले विज्ञप्तिमा भनेका छन् ।
आयोगले मतदाता नामावलीको अन्तिम विवरण असोज १८ गते प्रकाशन गर्नेछ । असोज १८ देखि ३० गतेसम्म त्रुटि सच्याउन निवेदन दिने र झुटा विवरण पेश गरी नाम लेखाएको भए उजुरी दिन सकिने आयोगले जनाएको छ ।
मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली कात्तिक २६ गते प्रकाशित हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


