जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी, बरिष्ठ उपाध्यक्षमा मनोज साह र महिला उपाध्यक्षमा रिंकु साह निर्वाचित भइसकेका छन् । अब भने महासचिव, सचिव र कोषाध्यक्ष पदको मतगणना भइरहेको छ ।

अहिलेसम्मको मतपरिणाम हेर्दा महासचिवमा फुलदेव पण्डित, सचिवमा नरेन्द्र बिक्रम साह (निरज) र कोषाध्यक्षमा परमेश्वर साहले अग्रता लिएका छन् ।

महासचिवमा फुलदेव पण्डितले १ हजार १३१ मत ल्याएर अग्रता कायम राखेका छन् भने सुधिर पजियारले ५३७, अशोक चौधरीले ४२८ र गणेश कुमार साहले ३६४ मत प्राप्त गरेका छन् । महासचिवमा २९ वटा मत बदर भएको निर्वाचन समितिका अध्यक्ष ललित कुमार साहले जानकारी दिए ।

त्यस्तै, सचिव पदको ३ हजार ३ मतगणना भइसक्दा नरेन्द्र बिक्रम साह (निरज) १ हजार १८६ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोपी कुमार साहले ७७५ र राकेश पजियारले ६२६ मत पाएका छन् । सचिवमा ३७ वटा मत बदर भएको छ।

कोषाध्यक्ष पदमा भने परमेश्वर साहले ८५३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार शर्माले ५२७, राकेश कुमार साहले ३५९ र रामचन्द्र पजियारले २१७ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदमा ४९ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा जम्मा ४ हजार ७६ मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।