काठमाडौं, १६ भदौ । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजका लागि तोकिएको छ ।

अध्यक्ष विपुल पोखरेलले आइतबार एक बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।

‘असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले वक्तव्यमा भनेका छन् ।

सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक–पटक सर्दै आएको छ ।

सदस्यता शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो ।

त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष पोखरेलले जारी गरेको बक्तव्यमा उल्लेख छ । पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षको नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

यसअघि असार २२ गते निर्वाचनको मिति तय भएको थियो ।