जसपा अध्यक्षमा उपेन्द्र यादव निर्विरोध, अन्य पदमा को–को भिड्दै ?

जनकपुरधाम, ३० जेठ । जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
विगत लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुन: अध्यक्ष चुनिएका हुन्।
जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको तीनदिने प्रथम महाधिवेशनअन्तर्गत आज अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन्।
१८ वर्षअगाडि यादवकै नेतृत्वमा मधेशी जनअधिकार फोरम नेपाल गठन भएर पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा उनीनै रहिरहे ।
पार्टीको प्रथम महाधिवेशनबाट उनी पुन: अध्यक्षमा निर्वाचित भएका छन्।
अन्य पदमा को–को भिड्दै ?
पार्टीको सहअध्यक्ष पदका लागि ३ जनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको हो । उपाध्यक्षमा भने खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दिएका छन् ।
जसपाको विधान अनुसार एकजना अध्यक्ष, एकजना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । त्यस्तैगरी २ जना महासचिव र उपमहासचिव तीनजना र त्यसमध्ये एकजना महिला हुनुपर्ने पार्टीको विधानमा व्यवस्था छ ।
त्यस्तै सचिव ७ जना हुनेमा दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एकजना रहने व्यवस्था छ ।
२० जना केन्द्रीय पदाधिकारी रहने जसपाको केन्द्रीय समिति २०१ सदस्यीय बन्नेछ । आजै अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानको समय तोकिएको जसपा नेपालले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


