मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा

काठमाडौँ, २४ जेठ । तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा आएको छ ।
बालुवाटार स्रोतका अनुसार यही शनिबार हुने शपथ ग्रहण कार्यक्रममा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा आएको हो ।
प्रधानमन्त्री दाहाल पनि भारतीय जनता पार्टी (भाजपा)का मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाने तयारीमा लागेको बुझिएको छ ।
सन् २०१४ देखि मोदी लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए । केही दिनअघि सम्पन्न लोकसभा निर्वाचनको मतपरिणामअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो ।
लोकसभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । मोदी नयाँ मन्त्रिमण्डल गठनको तयारीमा लागेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


