मिडिया काउन्सिल विधेयकलाई संसदबाट छिटोभन्दा छिटो पारित हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयकलाई संसदबाट छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएकी छन् ।
नेपालमा परिवर्तित मिडिया क्षेत्रलाई नियमन गर्न, प्रवद्र्धन गर्न र त्यसको उचित व्यवस्थापन गर्न पनि संघीय संसदले त्यसलाई छिटो भन्दा छिटो पारित गरेर सोही अनुसारको कानून निर्माण गरी कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने उनको भनाई थियो ।
आईतवार राष्ट्रिय सभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपालको संविधान र राष्ट्रिय आम सञ्चार नीति कार्यान्वयनमा ल्याउनका लागि पनि सरकारले सो विधेयकलाई छिटो कानूनी रुप दिन चाहेको स्पष्ट पारिन । उनले सो विधेयकमा स्वनियमनको माध्यमबाट मिडियाहरुको व्यवस्थापनमा विशेष ध्यान दिने व्यवस्था गरिएको पनि बताइन् । मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिने कुरामा पनि सचेत रहेर सरकारले सो विधेयक ल्याएको स्पष्टिकरण दिइन् ।
उनले भनिन्, ‘मिडिया काउन्सिल विधेयकलाई छिटो भन्दा छिटो पारित गराउने ढंगले गर्यौं भने मलाई के विश्वास लाग्छ भने नेपालमा परिवर्तनमा भएको मिडिया सेक्टरको जुन स्थिति छ । त्यसलाई नियमन गर्नुपर्ने, प्रमोट गर्नुपर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने जुन अवस्था छ । त्यो अवस्थालाई हामी छिटो भन्दा छिटो सम्बोधन गर्नसक्छौं ।’
मन्त्री शर्माले सरकार पत्रकारहरुको पेशागत मर्यादामा आँच आउन नदिन सचेत रहेको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


