काठमाडौँ, १६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ’हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ बुधवार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।

समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भन्दै उनले तर अझै पनि राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन् । उनले भनिन्, ’विगतभन्दा बजेट बढेको छ । तर, समग्रमा हेर्दा बजेट निकै न्यून छ । विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’

आफूले पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग कुरा गरे पनि बजेट मागेजसरी नआएको उनको गुनासो थियो । ‘मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसुस भयो । परम्परागत खालको सोच रहेछ भन्ने मलाई लाग्यो ।’