बालुवाटार, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरूसँग प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बालुवाटारमा जम्मा भएका छन् । प्रधानमन्त्रीले एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गरेर संसदमा जारी अवरोध खुलाउने विकल्प खोज्न लागेका बताइएको छ ।

प्रतिपक्षी कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेतासँग छलफल गरेपछि सहज अवस्था हुने प्रधानमन्त्रीले अपेक्षा गरेको बताइएको छ ।

प्रधानमन्त्रीले शुक्रवार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका थिए । उनले संसद्को जारी अवरोधले सरकार नीति तथा कार्यक्रम पारित गर्न असमर्थ भइरहेको राष्ट्रपतिसँग चर्चा गरेका थिए । यही अवस्था जारी रहे नयाँ बजेट संसदमा प्रस्तुत गर्न सम्भव नहुने तर्फ पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराएको शीतल निवास सूत्रले बताएको छ ।

संसद्को बैठक शुक्रवार पनि अवरुद्ध भएपछि १३ गतेलाई अर्को बैठकको मिति तोकिएको छ । त्यस दिनसम्ममा प्रतिपक्षी दलसँग सहमति बनेर संसद् निर्बाध अघि बढ्न सक्ने अवस्था आयो भने सरकार नीति तथा कार्यक्रम पारित गराएर बजेट घोषणाको अन्तिम तयारीमा लाग्ने देखिएको छ ।

केही गरी प्रतिपक्षी दल सहमत नभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति रहेको समाचार सूत्रले बताएको छ । यही कारणले राष्ट्रपतिसँग परामर्श गरेपछि प्रधानमन्त्रीले दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।