काठमाडौँ, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अङ्ग र निकायहरू भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका छन् ।

शुक्रवार राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रूपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानुन निर्माण गर्ने तहसम्म पुगेको बताए ।

उनले भने, ‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन अहिले तीनै तहका सरकार, संवैधानिक अङ्ग र निकायहरू भ्रष्टाचारले आक्रान्त छ । खास गरी २०४६ सालको राजनीतिक परिवर्तन पछि अनेक रूप र स्वरूपमा भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रूपमा विकसित हुँदै आएको छ । भ्रष्टाचार सामान्य लिने दिने, कुरामा मात्र सीमित छैन । सङ्गठित रूपमा ऐन कानुनको फाइदा लिने, सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल ऐन कानुन नै निर्माण गर्ने तहसम्म पुगेको छ ।’

यस्तै, उनले न्यायालय तथा संवैधानिक अङ्गहरूमा दलकै सिफारिसमा नियुक्त मानिस भएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रूपमा उभिन राप्रपाले अठोट गरेको बताए ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचार संस्थागत जस्तै भएको छ । सबैजसो मुख्य राजनीतिक दलहरूको सबैजसो सदस्यहरूको भ्रष्टाचारमा संलग्नता छ । न्यायालय तथा संवैधानिक अङ्गहरूमा दलकै सिफारिसमा नियुक्त मानिसहरू भएका कारण भ्रष्टाचारीहरू पूर्ण रूपमा कम हुने सम्भावना न्यून छ । त्यस कारण भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रूपमा उभिन राप्रपाले अठोट गरेको छ ।’

सत्ता स्वार्थमा बसेर दलहरूले गर्ने क्रियाकलापले विश्व समुदायमा नेपालको विश्वसनीयता कमजोर बन्दै गएको भन्दै वैदेशिक सम्बन्धमा दल र सत्ता होइन, देश हुनुपर्ने पनि उनको भनाई छ ।