शैक्षिक सुधारका लागि उपमहानगरद्वारा नीजि विद्यालयसँग सम्वाद, अवैध विद्यालय बन्द गर्नुपर्ने माग

जनकपुरधाम, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले शिक्षा सुधारका लागि सम्बन्धित पक्षसँग सम्वाद गरेको छ । शैक्षिक सुधारका लागि उपमहानगरले नीजि विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरुसँग सम्वाद गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह तथा प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको उपस्थितिमा नीजि विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुसँग विद्यालय सुधारका लागि अपनाउन सकिने उपायका विषयमा छलफल गरिएको छ ।छलफलमा प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सन सम्बद्ध विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरुको उपस्थिति रहेको थियो ।
नगरप्रमुख साहले नगरभित्रका विद्यालयहरुमा शैक्षिक गतिविधि सुधार, अवैध विद्यालयमाथी निगरानी, परिक्षा प्रणालीमा सुधार लगायतका विषयमा कदम चाल्न उपमहानगर तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले बिना इजाजत संचालित विद्यालयलाई कारवाही गर्न तयार रहेपनि संघिय शिक्षा ऐन नहुँदा कतिपय कमद चाल्न कठिनाई भइरहेको गुनासोसमेत सुनाए ।
२०२८ को शिक्षा ऐनलाई टेकेर उपमहानगरले स्थानीय शिक्षा ऐन निर्माण गरेको बताउँदै उनले उपमहानगरको शैक्षिक स्तर सुधारका लागि हरसम्भव प्रयास गरिने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा सहभागी एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले दर्ताबिनाका विद्यालयहरुलाई बन्द गर्नुपर्ने माग गरेका थिए । उनले भने, ‘दर्ताबिनाका विद्यालयहरुलाई या त बन्द गर्नुपर्छ नभए प्रक्रिया पुर्याएर वैधता प्रदान गर्नुपर्छ । त्यसपछि हाम्रो कुनै आपत्ति रहने छैन ।’
उनले उपमहानगरले यहाँस्थित अवैध विद्यालयहरुको पहिचान गरि कतिपयलाई तत्कालै विद्यालय बन्द गर्न र कतियौंलाई दर्ताको प्रक्रियामा आउन आह्वान गर्दै चिठ्ठीसमेत काटिसकेको अवस्थामा थप पहल नगर्नु दुःखद रहेको सुनाए ।
ठाकुरले पाठ्यक्रममा मैथिली समावेश गर्न उपमहानगरसँग माग गर्दै परीक्षा प्रणालीमा सुधार हुनुपर्ने र पुरानै पाठ्यक्रम अध्यापन गराइरहेका केही विद्यालयहरुमाथि कारवाही गर्नसमेत माग गरे । उनले उपमहानगरले शैक्षिक सुधारका लागि चाँडै केही पहल नगरे प्याब्सन र एनप्याब्सनले कुनै सहकार्य नगर्ने चेतावनी दिएका थिए ।
उपमहानगरले यसअघि समुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि सम्वाद गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


