जनकपुरधाम, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बिहीबारसम्म हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चुडामणि खड्काको एकल इजलासले उनलाई तीन दिन हिरातसमा राख्ने अनुमति दिएको हो ।

श्रेस्तेदार कैलाश भट्टराईले अदालतले पक्राउ भएको दिनदेखि लागू हुने गरी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको जानकारी दिएका छन् । सिरोहियालाई मंगलबार पक्राउ गरिएकाले बिहीवारसम्म हिरासतमा राख्न पाइने उनले बताए ।

सिरोहियालाई मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान जनकपुरधाम ल्याई अदालतमा उपस्थित गराइएको छ । उनलाई बिहीबारसम्म जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमै राखिने बताइएको छ ।

त्यसअघि आजै नागरिक समाजका अगुवाहरुले सिरोहियाको गिरफ्तारी विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका थिए । जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा रयाली सहित जिल्ला प्रहरी कार्यालय धनुषा गएका उनीहरुलाई भैरवचौकमै रोकिएको थियो ।

भैरवचौकमा प्रहरीले घेरा हालेर जिल्ला प्रहरी कार्यालयतर्फ जान रोक लगाएपछि मुख्य सडकमै करिव एक घण्टा धर्ना बसेका उनीहरुलाई नेपाली कांग्रेसको पार्टी कार्यालयबाट आएका तरुण दल र नेविसंघको जुलुसले घेरामुक्त गरि जिल्ला प्रहरी कार्यालय तर्फ लगेका थिए ।