जनकपुरधाम, ५ जेठ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ ।

लोसपाले महाधिवेशनको तयारीस्वरुप शनिबारदेखि धनुषाबाट सदस्यता वितरण अभियानको शुरुवात गरेको हो ।

लोसपा धनुषाका अध्यक्ष जीवेन्द्र झाको अध्यक्षता एवम केन्द्रिय महासचिव परमेश्वर साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममार्फत शनिबारदेखि सदस्यता वितरण अभियान सुरु गरिएको छ । धनुषा, सिरहा, सप्तरी र सर्लाहीबाट पहिलो चरणको सदस्यता वितरण अभियान सुरु गरिएको बताउँदै अध्यक्ष झाले यो वर्ष नयाँ सदस्यता वितरण, नवीकरण गरी पालिका, प्रदेशलगायत सबै तहको अधिवेशन सम्पन्न गरी अर्को वर्षको सुरुवातमै महाधिवेशन गर्ने तयारी सुरु भएको बताए ।

धनुषाबाट सदस्यता वितरण अभियान सुरु भएको र २०८१ मा सबै तयारी पुरा गरेर २०८२ मा महाधिवेशन गर्ने गरी पार्टी अगाडि बढेको उनले बताए ।

महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोसपाका अध्यक्ष छन् । तमलोपा हुँदै विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुगेका महन्थ ठाकुर पार्टीका सदाबहार अध्यक्ष जस्तै भएका छन् । पार्टीमा अझै उनको विकल्प खोजिएको छैन ।

२०६५ देखि हालसम्म संसदमा मात्र होइन, सरकारमा पनि सम्मानजनक उपस्थिति देखाउँदै आएका अध्यक्ष ठाकुरले एक पटकमात्र महाधिवेशन गर्न सकेका छन् । २०७१ मा नवलपरासीमा भएको महाधिवेशनबाट ठाकुर नै अध्यक्ष भएका थिए । त्यस यता पार्टीको महाधिवेशन भएको छैन ।

२०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्छ भनी तयारीमा पार्टी लागेको महासचिव साहले बताए । महाधिवेशनको तयारी सुरु भएपछि पार्टीका हरेक सङ्गठन क्रियाशील हुने भन्दै उनले सङ्गठनका अन्य कामहरू पनि अगाडि बढ्ने बताए ।

पटक पटक महाधिवेशनका लागि मिति तय गरेपनि कुनै न कुनै बहानामा त्यो टर्थ्यो । निर्वाचन आयोगमा पनि पटक पटक महाधिवेशनका लागि म्याद थपिएको हो ।

‘लोसपा गठन भएको तीन वर्ष हुन लागेको छ । प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गर्ने प्रावधान छ । विगतमा विभिन्न दलसँग एकीकरण, समायोजनका कारण तोकिएको समयमा महाधिवेशन नभएको पार्टीका नेताहरूले दाबी गरेका छन् ।

लोसपाले पदाधिकारीसहित कार्यसमिति सदस्यको नामावली हालै सार्वजनिक गरेको छ । सोही केन्द्रीय समितिको विवादका कारण राजेन्द्र महतोलगायतका नेताहरू लोसपा छाडेका छन् ।