काठमाडौँ, १९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले आफूलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि नलाग्ने बताएका छन् ।

सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।

नाउपाको सोमवार अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रञ्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दै चौधरीले चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् ।

’जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौँ, पार्टीको बैठकमा कसले कसलाई हातपात गरेको र ज्यान मार्ने धम्की कसले दिएको हो सुन्ने हेर्ने साक्षीहरू भएको उल्लेख गर्दै उनले भने, ’अनावश्यक हो, हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो ।’

पार्टी पहिचानवादीहरुको साझा आवाज भएको उल्लेख गर्दै उनले पार्टी कसैको पेवा नभएको बताए ।