यो गठबन्धन हामीले बनाएका हौँ, चीनले बनायो भनेर हाम्रो अपमान नगर्नुस् : ओली

काठमाडौं, १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन भवितव्य नभई धेरै हिसाबकिताब र छलफल गरेर बनेको दाबी गरेका छन् ।
बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अहिलेको गठबन्धनलाई टिकाएर लैजाने उल्लेख गर्दै उनले भने, ‘यो समीकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु, यसलाई टिकाएर लैजाने हो ।’ अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई देश बनाउने संकल्पसहित बनेको उनले जिकिर गरे ।
गठबन्धन भत्किँदा कांग्रेसलाई ठूलो पीर परेको भन्दै उनले यो गठबन्धन चीनले नभएर नेपाली जनताले बनाएको बताए । उनले भने, ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौँ, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस् ।’
नयाँ समीकरण बनेसँगै सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती शाहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


